चैत १ शुक्रबार ।
हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही हप्तायता विभिन्न ठाउँमा भाइरल ज्वरो, रुघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको सङ्ख्या बढिरहेको छ ।स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ ।
जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक १५ जनाभन्दा धेरै बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् ।१५ शय्या क्षमताको अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती थपिएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताए । उनका अनुसार अस्पतालमा आउने धेरै बिरामी गम्भीर अवस्थाका छन् ।
डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा. रामबाबु जोशीले बताए ।
स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ ।




