२०८१,११,१९
आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सुरक्षा कडाइका साथ दल दर्ता भई रहेको छ। सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ। गत बिहीबार नेविसंघका दुई खेमा बीच झडप भएपछि सम्भावित घट्ना हुन नदिन कडाइ गरिएको प्रहरीको भनाइ छ।
क्याम्पसमा देउवा समूह र शेखर कोइराला समूहका विद्यार्थीबीच कुटाकुट भएको थियो ।घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल तथा अर्का सदस्य आयुष दाहाल घाइते भएका थिए। स्ववियु सभापति जसवन्त पौडेल कांग्रेसको संस्थापन पक्षका हुन्। उनकै नेतृत्वमा रहेको समूह स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादवलगायत समूहले पोखरेलमाथि कुटपिट गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो।
आक्रमण गर्ने समूह हातहतियारसहित कुटपिटमा उत्रिएको भए पनि प्रहरीले अहिलेसम्म घट्नामा संलग्न भएकालाई पक्राउ गरेको छैन।




