फागुन ०६ मंगलबार ।
भारतको ओडिशामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई फर्कन अपील गरे पनि विद्यार्थीहरू फर्किन सकेका छैनन् ।विद्यार्थीहरूले हडताल जारी राखेका छन् नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि विद्यार्थीहरूले आजपनि प्रदर्शन तथा हडताल गरेका हुन् ।त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार विद्यार्थीहरूले आज कलेजमै विरोध प्रदर्शन गरेका हुन् ।
नेपाली विद्यार्थीको मृत्यु प्रकरणपछि कलेज प्रशासनबाट भएको नेपाली विद्यार्थी दुर्व्यवहारमा भारतीय विद्यार्थीहरूले अग्रपंक्ति खटिएर आन्दोलन गर्न थालेका हुन् ।केआईआईटीका अधिकारीहरूको व्यवहारका कारण नेपाली विद्यार्थी त्रसित बन्न पुगेको भन्दै भारतको सत्तारुढ भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्को नेतृत्वमा आन्दोलन थालिएको हो । केआईआईटीका कारण लज्जास्पद घटना भएको बताउँदै विद्यार्थीहरूले विरोध प्रदर्शनलाई निरन्तरता दिएका हुन् । केआईआईटीका अधिकारीहरूले आन्दोलनरत विद्यार्थीहरूलाई कन्भिन्स गर्न खोजिरहेका छन् ।
तर, उनीहरूले दोषीमाथि कारबाही हुनुपर्ने, नेपाली विद्यार्थीलाई कलेजबाट निकालेर घर पठाउनेहरूमाथि अनुसन्धान गरेर कारबाही गरिनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका हुन् ।केआईआईटीले नेपाली विद्यार्थीहरूलाई हिजो नै कलेज फर्किन अनुरोध गरेको थियो ।
उक्त घटनापछि विद्यार्थीको सुरक्षाका लागि सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको बताउँदै आएको केआईआईटीले सोमबार राति अर्को विज्ञप्ति जारी गर्दै कलेजमा फर्केर पठनपाठनमा सहभागी हुन अनुरोध गरेको थियो । फर्किनका लागि विद्यार्थीहरूले भने विभिन्न सर्तहरू राखेका छन् । भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका नेपाली विद्यार्थीहरूले पुनः होस्टेल फर्केर पठनपाठनमा सहभागिता जनाउनका लागि आठ बुँदे सर्तहरू राखेका हुन् ।
घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नु परेको र न्याय सुनिश्चित गरेर घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्ने माग आफूहरुको रहेको एक नेपाली विद्यार्थीले बताए । त्यस्तै होस्टल वार्डेन र केआईआईटीका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लङ्घन गरेकाले उनीहरूमाथि समेत अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।
त्यस्तै पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्ने समेत माग गरेका छन् । नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्ने, छात्रावासभित्र नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्ने होस्टल वार्डेन र होस्टेल डाइरेक्टरलाई समेत कारबाही गर्नुपर्ने माग गरेका छन् ।
विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र केआईआईटीको सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्ने समेत माग गरेका छन् । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्ने समेत माग गरेका छन् ।




