२०८१,९,११
भारतमा रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीको परिचय खुलेको छ । गएको बुधवार बेलुकी महाराष्ट्रको जलगाउँ जिल्लाको परधाडे स्टेशन नजिकै रेल दुर्घटना हुँदा ७ जना नेपालीसहित १२ जनाको ज्यान गएको थियो ।परराष्ट्र मन्त्रालयका अनुसार रेल दुर्घटनामा ज्यान गुमाउने नेपालीहरूमा कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी तथा अछामको मंगलसेनका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा रहेका छन् । यस्तै रेल दुर्घटनामा अछामकै कमलबजारकी ६० वर्षीया कला कामी र बाँकेको डुँडुवाको ३२ वर्षीय राधेश्याम राधको ज्यान गएको छ ।
दुर्घटनामा घाइते भएका ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र १ जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । ज्यान गुमाएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।