माघ १ मंगलबार
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ९जिबिआइए०मा फ्लाई दुबईले पुनः नियमित उडान सुरु गरेको छ । एक महिनापछि फ्लाई दुबईको जहाज सोमबार दिउँसो दुई बजे भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।फ्लाई दुबईको सोमबारको उडानमा काठमाडौंमा भन्दा भैरहवा झर्ने यात्रुहरू धेरै रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । जहाजमा सवार कुल एक सय ५६ यात्रुमध्ये बिजनेस क्लासका ६ सहित ८९ यात्रु भैरहवा झरेका थिए भने काठमाडौंमा बिजनेस क्लासका चारसहित ६७ यात्रु थिए ।
तर, भैरहवाबाट दुबई जाने यात्रु भने १५ जना मात्र रहेको बताइएको छ ।एक महिनापछि भएको पहिलो उडानमै भैरहवा झर्ने यात्रुहरू धेरै हुँदा उत्साह थपिएको भैरहवाका व्यवसायीले बताएका छन् । २५ कात्तिकदेखि फ्लाई दुबईले भैरहवामा दैनिक एउटा उडान गर्दै आएको छ । खराब मौसमका कारण बिचमा रोकिएको उडान पुनः सुचारु भएपछि स्थानीय व्यवसायी पनि उत्साहित भएका छन् ।अहिले पनि नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–दुबई–काठमाडौं रुटमा सातामा चार उडान गर्दै आइरहेको छ ।
यस्तै, काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं रुटमा दैनिक एउटा उडान गर्छ । जजिराले ३१ जनवरीदेखि र एयर एसियाले फेब्रुअरी फस्र्टदेखि नियमित उडान सुचारु गर्ने तयारी गरेको सहप्रवक्ता भुलले बताए ।यसअघि थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दै आएको थियो । जजिराले कुवेत–भैरहवा–कुवेत सातामा तीन उडान सुरु गरेको थियो । एयर एसिया र जजिराले सोही तालिकाअनुसार भैरहवा उडान सुचारु गर्ने तयारीमा रहेको बताइएको छ । कतार एयरले अझै भैरहवा उडान नियमित गर्ने प्रस्ताव पेस गरेको छैन ।