पौष १६ मंगलबार
नेपाली कांग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बताए ।
पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्याउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । कांग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेपनि सरकारको नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताए ।
नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको उनको दाबी छ । नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली कांग्रेसले सबै राजनीतिक दलहरूलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए ।