२०८१,८,२३
आज र भोलि देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज बेलुकादेखि मौसम बदली हुने सम्भावना छ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज बेलुकादेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।मौसम बदली, हल्का वर्षा र हिमपातको असरले तापक्रम थप घट्ने र चिसो बढ्ने सम्भावना छ । वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोधसमेत गरिएको छ ।