२०८१,८,११
सातौं सामाजिक सुरक्षा दिवस मंगलबार मनाइँदैछ।सामाजिक सुरक्षा कोषका अनुसार हाल १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार ६४० योगदानकर्ता कोषमा आबद्ध भएका छन्, जसमा औपचारिकतर्फ पाँच लाख ४३ हजार ४९१ जना छन्। वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६१५ छन्। यसैगरी स्वरोजगारमा २२७ जना र अनौपचारिकतर्फ ३०७ जना आबद्ध छन् ।
कोषमा अहिलेसम्म ६८ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ। कोषले अहिल ५८७ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि एक लाख ५७ हजार ५०० रुपैयाँसम्म अहिले मासिक निवृत्तिभरण दिँदै आएको छ। यसबाहेक सन्तति हुनेले शैक्षिक वृत्ति अन्तर्गत अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत हुन आउने रकम २१ वर्ष नपुगेसम्म प्राप्त गर्ने व्यवस्था छ।
अहिले सन्तति शैक्षिकवृत्ति २७८ मृतकका ३६३ बालबालिकाले प्राप्त गर्दै आएको कोषले जानकारी दिएको छ। यस्तै कानूनअनुसार मृतक विवाहित नभएको खण्डमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउने व्यवस्था छ। कोषका अनुसार आश्रित परिवार योजना अन्तर्गत हालसम्म १८ करोड ५५ लाख पाँच हजार ९६८ रुपियाँ निवृत्तिभरणका रूपमा उपलब्ध गराइएको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै वेला विभिन्न कारणले मृत्यु भएका योगदानकर्ताका आश्रित परिवारलाई मासिक एक लाख ५७ हजार ५०० रुपैयाँसम्म निवृत्तिभरण उपलब्ध गराएको कोषका सूचना अधिकारी उत्तमराज नेपालले जानकारी दिए।
२०७५ मङ्सिर ११ गते स्थापना भएको कोषले विभिन्न योजना अन्तर्गत कर्जा, स्वास्थ्य बिमा र निवृत्तिभरणलगायतका सुविधा प्रदान गर्दै आएको छ।