२०८१,०७,१६
भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाका नेवार समुदायले भने आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका हुन् ।
भक्तपुर नगरपालिकाले आज साँझ ५।१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउन नगरवासीलाई भनेको छ । त्यसलै भक्तपुर नगरपालिकाका नेवार समुदायले सोही अनुसार म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने लागेका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने आज कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ । आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ ।कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवर्द्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह ९आत्म० पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी ६ वटा पर्व एकैदिन परेको समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्ग र भित्तेपात्रोमा उल्लेख छ ।
समितिका अनुसार तिथिका घटबढका कारण यस वर्ष पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो ।यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि सकिने समितले जनाएको छ । भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।