काठमाडौं, १६ माघ । नेकपा एमालेले औचित्य पुष्टि नभएका र दीर्घकालिन महत्व राख्ने वर्तमान सरकारका निर्णयप्रति आगामी सरकार जवाफदेही नहुने बताएको छ ।
नयाँ जनादेश अनुसार आगामी सरकार गठनको लागि पर्खिरहेको एमालेले मुलुकलाई बोझ पर्ने र औचित्यविहिन निर्णयको जवाफदेही स्वयम् वर्तमान सरकार नै हुनुपर्ने बताएको हो ।
स्थायी समितिको बैठक पछि मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा संचारकर्मीसंग कुरा गर्दै उपाध्यक्ष बामदेव गौतमले दीर्घकालिन महत्व राख्ने अनुचित र औचित्यहिन निर्णयको जवाफदेहि आगामी सरकार नहुने बताए ।
जथाभावी शहीद घोषणा, बेरोजगार भत्ता, जेष्ठ नागरिकलाई दिईदै आएको सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सरकारले गरेका निर्णयले मुलुकलाई अनावश्यक आर्थिक बोझ बोकाएको भन्दै एमालेले दीर्घकालिन महत्वका निर्णय उल्टाउने चेतावनी दिँदै आएको छ । उपाध्यक्ष गौतमले जनादेश गुमाईसकेको सरकारले निर्लज्ज तरिकाले अनुचित निर्णय गर्दै गएको बताए ।
नेपाल परिवार नियोजन संघको निर्वाचित केन्द्रीय समितिलाई भंग गर्ने, एकल महिलालाई उपलब्ध गराउँदै आएको जिवन निर्वाह भत्तामा समेत ५५ बर्ष भन्दा माथिको उमेर हद तोकेपछि सरकारको चौतर्फी आलोचना हुँदै आएको छ । सरकारले गरेका यस्ता निर्णय विरुद्ध नेपाली कांग्रेस भित्रैका नेता कार्यकर्ताले पनि जथाभावी शहीद घोषणा गरेको भन्दै विरोध गरेका छन् ।