भाद्र ९, २०८१ आइतबार
प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताउनुभएको छ ।काँग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरुले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो सम्भव नहुने जिकिर गर्नुभएको हो । आईतवार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको शपथग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले दुई ठूलो पार्टीको नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्रै सिमित हुने दाबी समेत गर्नुभयो । कमसेकम नेपालमा त्यो सिस्टम असम्भव रहेको उहाँको भनाई थियो ।
सम्मानित नेता खनालले काँग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरुले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने बताउनु भयो । दुई ठूलो पार्टीले आफूहरुको सहयोग बिना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि चेन्ज गर्न नसक्ने सम्मानित नेता खनालले बताउनु भयो । उहाँले संविधान संशोधनको नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारुढ दलहरुले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिनुभयो ।सम्मानित नेता खनालले काँग्रेसमाथि सवार भएर प्रधानमन्त्री केपी ओलीले सत्ता चलाइरहेको भन्दै त्यसले एमाले भित्र ठूलो असन्तुष्टि बिजारोपण गरेको पनि बताउनु भयो ।




