गौरा पर्वको दोस्रो दिन आज नानी गौरा मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८१, आइतबार

गौरा पर्वको दोस्रो दिन आज नानी गौरा मनाइँदै

भाद्र ९, २०८१ आइतबार

सुदूरपश्चिमको मुख्य पर्व गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदै छ ।  व्रतालु महिलाहरुले आज अघिल्लो दिन भिजाएका बिरुडालाई नजिकको धारा, तलाउमा लगेर धुने चलन छ । आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई पानीको मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ । अघिल्लो दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको छ ।

बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन छ । आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझ भने मिठोमसिनो खाने चलन रहेको छ । बिरुडा र फलफूलसहित व्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गर्दछन् । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी प्राप्त भएको विश्वास गरिन्छ ।

यसरी भएको गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकारहरुले बताएका छन् । सप्तमीका दिन गौरालाई भित्र्याउने चलन छ । उक्त दिन महिलाहरुले धारणा गर्ने विशेष प्रकारको धागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीको दिन धारण गर्ने चलन छ । तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुवधागो धारणा गर्ने गर्दछन् । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने गरिएको छ । गौराकै अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रमहरु पनि राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);