सरकारमा पठाउने गरी ९ मन्त्री छान्न आन्तरिक विवादमा कांग्रेस, अझै छान्न सकेन मन्त्रीहरू | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८१, बिहीबार

सरकारमा पठाउने गरी ९ मन्त्री छान्न आन्तरिक विवादमा कांग्रेस, अझै छान्न सकेन मन्त्रीहरू

असार ३१, २०८१ काठमाडौँ — आन्तरिक विवादले शपथको केही समय अघिसम्म पनि कांग्रेसले मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा पठाउने गरी ९ मन्त्री छान्न बिहानैदेखि परामर्श थाले पनि आन्तरिक भागबन्डा मिलेको छैन ।

सोमबार बिहान प्रधानमन्त्री ओलीसँगै कम्तीमा कांग्रेस र एमालेबाट सरकारमा जाने सबै मन्त्रीहरूको एकैचोटि शपथ खुवाउने तयारी दुई दलको छ ।

कांग्रेसमा एकातिर मन्त्रीहरू छनोटको विषयलाई लिएर विवाद छ भने अर्कोतर्फ संस्थापनइतर पक्षको मागका कारण सभापति देउवालाई सकस परिरहेको छ ।

नेता शेखर कोइराला र महामन्त्री गगन थापा नेतृत्वको इतर समूहको बिहान बसेको बैठकले कांग्रेसले १० मन्त्रालय पाउँदा ५ र ९ मन्त्रालय पाउँदा कम्तीमा ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको थियो ।

तर, सभापति देउवाले कोइरालालाई फोन गरेर तीन मन्त्री र एक राज्यमन्त्रीको नाम पठाउन आग्रह गरेको तर उनले चार मन्त्रालय नपाएसम्म नाम नपठाउने जवाफ दिएको स्रोतको भनाइ छ । सोमबार बिहान पनि सभापति देउवा आन्तरिक छलफलमा जुटेका छन् । साथै महामन्त्री थापा र कोइराला समूह पनि छलफलमा जुटेको छ ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार पाँच मन्त्रालय माग्ने विषयमा छलफल भए पनि चार मन्त्रालयको अडान लिनुपर्ने निष्कर्ष आइतबार बिहानको बैठकले गरेको बताए । मन्त्रीहरूको नेतृत्व गरेर जान नेता शेखर र महामन्त्री थापालाई प्रस्ताव गरेको केसीले जानकारी दिए । कांग्रेस र एमालेको समीकरणलाई अवसर र चुनौती दुवै छ । असफल भयो भने जनतामा अझ निराशा बढ्छ । यस्तो अवस्थामा समन्वय गर्न सक्नेलाई पठाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’

सभापति देउवाले चाहेका नेता शेखर सरकारमा नजाने भएपछि दोस्रो प्राथमिकतामा महामन्त्री थापा थिए । तर, थापा पनि नजाने भएपछि देउवाले पूर्वउपसभापति प्रकाशमान सिंहलाई पठाउने मनस्थिति बनाएका छन् । शेखरपक्षीय नेताहरूले महामन्त्री थापाबाट एक जना र अरू शेखरले छनोट गर्ने बताएका छन् ।

चार मन्त्रालय पाउँदाको हकमा थापाले दलित समुदायको प्रतिनिधित्व हुने गरी सहमहामन्त्री जीवन परियार र प्रदीप पौडेललाई प्रस्ताव गर्दै आएका छन् भने कोइरालाले हृदयराम थानी र रामनाथ अधिकारीलाई प्राथमिकतामा राखेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलनिकट तेजुलाल चौधरी पनि मन्त्री बन्ने करिब निश्चित भएको कांग्रेस नेताहरूले बताएका छन् ।जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन दुई दलबीच समझदारी भई पाँच वटा मन्त्रालय छुट्याइएको छ । तर, साना दललाई पनि एकैसाथ सरकारमा सहभागी गराउनेबारे परामर्श नभएकाले सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने दुई दलको तयारीमा अनिश्चय बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);