कर्मचारीले भत्ता नपाएको विषय संसदमा | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८१, मंगलबार

कर्मचारीले भत्ता नपाएको विषय संसदमा

सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले संघीय संसद सचिवालयका कर्मचारीले सेवा सुविधा नपाएको विषय प्रतिनिधि सभाको मंगलबारको बैठकमा उठाएका छन्।

अतिरिक्त समयमा काम गरेको भत्ता नपाएकोलगायत विभिन्न ११ बुँदे मागसहित गत जेठ मसान्तदेखि कर्मचारीहरू आन्दोलनमा छन्।

‘संसदमा प्रवेश गर्ने ठाउँमा कर्मचारीले बाटो छेकेर धर्ना गरिरहेको देखियो,’ उनले भने, ‘यसअघि संसदको महासचिवको कार्यकक्षमा धर्ना गरेको र राज्य व्यवस्था समितिको बैठकपछि आधिकारिक कर्मचारी युनियनका अध्यक्षले आएर उहाँहरूका समस्या हामीसँग राख्नुभयो।’

कर्मचारीले राखेका कतिपय समस्या जायज भएको पनि आफूलाई लागेको पन्तले बताए।

‘जुन सुविधा अरू कर्मचारीले पाएका छैनन्, त्यो सुविधा संसदका कर्मचारीले पनि पाउनुपर्छ भन्ने मेरो भनाइ होइन,’ उनले भने, ‘तर जे सुविधा अरू मन्त्रालयका कर्मचारीले पाएका छन् त्यो सुविधा संसदका कर्मचारीले नपाउने भन्ने कुरा हुँदैन।’

कोरोना सुरू भएदेखि नै संसदका कर्मचारीले अतिरिक्त समयमा काम गरेको भत्ता नपाएको पनि उनले बताए।

‘उहाँहरूले हिजोको भत्ता माग्नुभएको छैन। कमसेकम अब अतिरिक्त समयमा काम गरेको भत्ता त पाउनुपर्‍यो। अर्थमन्त्रालय लगायत अन्यत्रका कर्मचारीले पाउने, संसदका कर्मचारीले किन नपाउने?,’ उनले प्रश्न गरे, ‘आज म देखिरहेको छु, सभामुखलाई सहयोग गर्न सबै कर्मचारी हुनुहुन्न, बाहिर धर्नामा हुनुहुन्छ। संसदभित्र यो दृश्य देखिनु आफैमा दु:खद हो कि होइन?’

कर्मचारीले सेवा सुविधाको माग गर्दै आन्दोलन जारी राखेपछि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार सदनका दुवै सभाका पदाधिकारीसहित दलका सचेतकहरूसँग छलफल गरेका थिए।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);