प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण हुने औंल्याउनु भएको छ ।
मंगलवारदेखि काठमाडौंमा शुरु भएको अन्तर्राष्ट्रिय विकास संघ आइडिए २१ पुनःपूर्ति रिप्लेसमेण्ट बैठकको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण हुने औंल्याउनु भएको हो ।
उहाँले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तिब्र रूपमा अगाडि बढाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतिलाई सम्बोधन गर्न पनि प्रचण्डले आग्रह गर्नुभयो ।
उहाँले विनाशकारी भूकम्प, प्रकोप, विश्वव्यापी महामारी र आर्थिक मन्दी जस्ता महत्वपूर्ण चुनौतिहरूको सामना नेपालले पनि गर्नुपरेको र यसले विकासमा बाधा पु¥याएको बताउनु भयो ।
विश्व बैंक समूह अन्तर्गत आईडीएको तेस्रो बैठक शुक्रबारसम्म हुने छ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो ।
बैठकमा विश्व वैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्गलगायत उच्च पदस्थ पदाधिकारी सहित ६१ देशका दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।बैठकमा आउँदो ३ वर्षका लागि आईडीए देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र त्यसको लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरू बीच प्राविधिक सत्रमा छलफल हुनेछ ।०००