भारतको मिजोरममा एउटा ढुंगाखानीमा पुरिएर ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।
मिजोरमको आइजोल जिल्लामा अविरल वर्षाका कारण ढुङ्गाखानीमा गएको पहिरोमा पुरिएर २७ जनाको मृत्यु भइसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
बङ्गालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा मिजोरममा राष्ट्रिय सडक पनि बगाएको छ । मिजोरमको अरू राज्यसँगको यातायात सम्पर्क टुटेको छ । मिजोरम
सरकारको सूचना तथा जनसम्पर्क विभागकाअनुसार त्यहाँ आवासीय पूर्वाधारमा क्षति हुँदा बिजुली र पानी आपूर्तिसमेत बन्द भएको छ ।
राज्य सरकारले विद्यालय बन्द गरेको छ भने अत्यावश्यकबाहेकका काम घरबाटै गर्न कर्मचारीलाई निर्देशन दिएको छ । आपतकालीन कोषमा राज्य सरकारले १५ करोड रुपैयाँ छुटयाएको छ ।
मृतकका परिवारलाई ४÷४ लाख भारतीय रुपैयाँका दरले राहत उपलब्ध गराइने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
लगातार निकै ठूलो चक्रवात चल्दा मिजोरमका धेरै ठाँउमा बिजुलीको पोल र रुखसमेत उखेलिएका छन् ।बङ्गालको खाडीमा विकसित भएको न्यून–चापीय प्रणाली जेठ १२ गते बेलुका शक्तिशाली चक्रवातमा परिणत भएको थियो । ०००