नवलपरासीको सुनवल नगरपालिकामा पर्ने खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको छ ।
मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको हो । अहिले हरेक जसो खोलामा एस्काभेटर, जेसिवी र टिप्पर अवैध रुपमा प्राकृतिक स्रोतको दोहनका लागि पुगेका हुन् ।
जिल्लाको सुनवल नगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाका नाममा तुरिया खोला, बिसासय खोला, बडेरा खोलालाई अमानतको नाममा विचौलियाहरुलाई जिम्मा दिइएको बताईएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) प्रतिवेदन अनुसार ती नदीहरुमा नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का लगाइएको भएपनि ती स्थानमा मेसिनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ ।
नदीहरुमा सयौँ टिप्परको लाइन दिनहुँ देख्न थालिएको छ । स्थानीय निकायहरुले नदी अमानत दिँदा मेसिनको प्रयोग गर्ने, नदीजन्य पदार्थ उठाउने सम्झौता गरिएको थियो ।
तर एस्काभेटरले जातततै नदीमा उत्खनन गरेको पाइएको छ ।
अवैध उत्खननले सिंचाई कुलोहरू समेत भासिन थालेको स्थानीयको गुनासो छ । नदीको बहाव अर्कैतिर मोडिएर गाउँबस्ती जोखिममा पर्नुकासाथै खेतीयोग्य जमिनसमेत जोखिममा परेको स्थानीय बताउछन् ।
जथाभावी मेसिन प्रयोग हुँदा नदी अर्कैतिर जाने र यसका कारण वर्षा याममा नदी गाउँमा पस्ने जोखिम बढेको स्थानीयको भनाइ छ ।
आयोजनालाई नगरले अमानतको नाममा खोला त जिम्मा दिएको छ तर विचौलियहरुले ढुवानीको जिम्मा पाएकाले आफ्नै घाटगद्दिमा लाएको पाइएको छ ।
व्यतिmको नाममा समेत रसिद काटेको भएपनि यस विषयमा नियमनकारी निकाय मौन रहेको छ । ०००