टि–२० विश्वकप क्रिकेटको तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ ।
पार्क हिल मैदानमा भएको खेलमा दीपेन्द्र सिंह ऐरीको विष्फोटक व्याटिङसँगै नेपाल ४ विकेटले विजयी भएको हो ।
घरेलु टोलीले दिएको १९७ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर ३ बल बाँकी छँदा पूरा गयो । हार नजिक पुगिसकेको नेपालका लागि दीपेन्द्र र सोमपाल कामीले मिलेर जित दिलाएका हुन् । अन्तिम दुई ओभरमा ३८ रन चाहिएकोमा दीपेन्द्रले १९औं ओभरमा चार छक्का प्रहार गर्दै ओभरमा २६ रन जोडे ।
अन्तिम ओभरको पहिलो तीन बलमा सोमपालले छक्का,दुई रन र चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रन जोडे । दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन जोडे । नेपालले यहि प्रतिद्वन्दी विरुद्ध थप २ अभ्यास खेल खेल्नेछ ।
सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपको दुई खेल खेल्दैछ । अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मेमा टोलीले प्रशिक्षण गर्ने तालिका छ । २२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ ।
नेपालले यसअघि सन् २०२२ मा लिग–२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो । नेपाल २५ मे मा डालास जाने छ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ वार्म अप खेल खेल्नेछ ।
०००