काठमाडौं,१८ चैत्र । अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्नुभएको छ । १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरूसँग छलफल गनुृभएको हो । परराष्ट्र मन्त्रालयबाट अर्थमन्त्री पुनले ४० बढी देशका राजदूत र नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्नुभएको हो ।
बैठकमा मुख्यसचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सिईओ सुशील भट्टलगायत सहभागी हुनुहुन्थ्यो । मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरूलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिएको बताइएको छ । लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरवको विषयसँग जोडिएको भन्दै मन्त्री पुनले अबको एक महिना सबै काम छाडेर यसैमा लाग्न प्रधानमन्त्रीकोतर्फबाट निर्देशन दिनु भयो ।
मन्त्री पुनले विदेशी विकास साझेदार, ठुला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वहरूलाई यसअघि नै निम्ता पठाइसकिएको जानकारी दिनु भयो । बैठकबाट लगानीमैत्री वातावरण बनाउन सरकारले गरेको र गरिरहेको नीतिगत, प्रक्रियागत र कानुनी सुधारको कामबारे जानकारी गराउन राजदुुत र नियोग प्रमुखहरुलाई जिम्मवारी दिइएको छ ।
भारत, चीन, कोरिया र खाडीसहित विभिन्न मुलुकहरूमा भइरहेका पूर्व तयारीका कामलाई थप तीव्रता दिन मन्त्री पुनले निर्देशन दिनभयो । बैठकमा बेलायत, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, भारत, ओमान, दक्षिण कोरिया र मलेसियाका राजदूत तथा नियोग प्रमुख सहभागी थिए ।