काठमाडौं,१४ माघ । प्रादेशिक सरकार गठनमा सहमति जुटाउने जिम्मेवारी पाएको वाम गठबन्धनको कार्यदलको बैठक आज बस्दै छ ।शीर्ष नेताले प्रदेश सरकारका मुख्यमन्त्रीको भागबण्डा गर्न दिएको निर्देशन अनुसार नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलको बैठक आज बस्न लागेको हो । कार्यदलले प्रदेश सरकार निर्माणको मापदण्ड यसअघि नै तय गरिसकेको छ ।
प्रदेशमा दलगत स्थिति, एकताको भावना, मुख्यमन्त्रीका उम्मेदवारको योग्यता र सन्तुलनलाई केन्द्रमा राखेर मुख्यमन्त्रीको भागबन्डा गरिने कार्यदलका सदस्यहरुले बताएका छन् ।प्रदेशका सभामुख, उपसभामुख र मन्त्रीको भागबण्डाका विषयमा पनि कार्यदलमा छलफल हुने छ । कार्यदलमा प्रादेशिक मन्त्रिपरिषद्को आधार प्रदेश सदस्यको १० प्रतिशत भन्दा ठूलो नबनाउने सहमति यसअघि नै भइसकेको छ । कार्यदलले राष्ट्रिय सभा निर्वाचनको सिट सहमतिमै बाँडफाँट गरेको थियो ।