काठमाडौं,१२ चैत्र । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।
आइतबार उदयपुर त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको खोजिका लागि आज बिहानदेखि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको हो । आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरले खोजतलास गरे पनि फेला नपरेपछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी सुरु गरिएको छ । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए । उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्किसकेका छन् । file photo