काठमाडौं,२० फागुन । चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी बालिका शालीन पोखरेलको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले आइतबार चितवन प्रहरीलाई पोस्टमार्टमको रिपोर्ट पठाएका हुन् ।
शालिनलाई बलात्कार नभएको शव परिक्षणबाट पत्ता लागेको छ । पोखरेलको कन्याजाली नच्यातिएको शव परीक्षण रिपोर्टमा उल्लेख छ । शालिनको मृत्युको कारण ‘झुण्डिएको’ रिपोर्टमा लेखिएको छ । गत फागुन १२ गते भएको उक्त घटनाबारे परिवारका तर्फबाट बलात्कारपछि हत्या भएको आरोपमा किटानी जाहेरी समेत परेको छ । प्रहरीले स्कुलका प्रिन्सिपल बालहरि देवकोटासहित तीन जनालाई पक्राउ गरेको छ । स्कुल पक्षले भने आत्महत्या गरेको दावी गर्दै आएको छ ।
कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको घटनालाई लिएर अहिले उनको परिवारले आत्महत्या नभएर हत्या नै भएको दाबी गरेको छ । प्रहरीले भने यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताउदै अनुसन्धामा प्रभाव पार्नेगरी कुनै सामग्रीहरु सम्प्रेषण नगर्न आग्रह गरेको थियो ।
प्रारम्भिक अनुसन्धानमा १४ वर्षीया छात्रा होस्टलमा अन्य साथीहरूसहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन् । त्यसमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएको छ। आत्महत्याको दोष उनले कसैलाई नदिई आफूले सबैलाई ‘खुसी’ राख्न नसकेको भाव ‘सुसाइड नोट’मा देखिन्छ । उक्त नोटका आधारमा उनले आत्महत्या गरेको हो भन्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको हो ।
उनका बुवा–आमा शालीन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्। यो १० वर्षमा शालीन ८ वर्ष मामाघर बसिन्। होस्टेल बस्न थालेको जम्मा दुई वर्ष हुँदै थियो। बाहिर आएजस्तो उनको बलात्कारपछि हत्या भएकोतर्फ अहिलेसम्म कुनै तथ्यले साथ दिएका छैनन्।
शवको प्रारम्भिक विवरणअनुसार उनको गालानेर डाम छ। घाँटीमा डोरीको डाम छ। शरीरका अन्य भागमा कुनै बाहिरी चोटपटक भेटिएको छैन् । परिवारका सदस्यले शालिनको हत्या भएको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा तीन जनाविरूद्ध किटानी जाहेरी दिएका छन्। प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, भाइस प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय वार्डेन कमल शर्मा पौडेल छन्।