काठमार्डौ फागुन ४ । जलवायु न्यायका लागि विश्वव्यापी वित्तीय व्यवस्थापनको पुनःसंरचना आवश्यक
जलवायु परिवर्तनको मारमा परेका नेपाल जस्ता मुलुकलाई न्याय दिलाउन विश्वव्यापी वित्तीय व्यवस्थाको पुनःसंरचना गर्नुपर्ने आवाज उठेको छ ।
काठमाडौंमा जारी विश्व सामाजिक मञ्चमा जलवायु न्यायका क्षेत्रमा कार्यरत संस्थाहरुले आयोजना गरेको जलवायु न्याय र वित्त परिचालन सम्बन्धी कार्यक्रममा सरोकारवालाहरुले विश्वव्यापी रुपमा नै वित्तीय व्यवस्थाको पुनःसंरचना गरिनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनीहरुले अहिले जलवायु परिवर्तन र दिगो विकासको मुख्य चुनौति रहेकाले दुवै समस्या एकसाथ समाधान गर्न समग्र वित्तीय व्यवस्था नै पुनःसंरचना गर्नुपर्ने तर्क गरे ।
देशहरुको आर्थिक अवस्था, विकास र कार्बन उत्र्सनमा गरेको योगदानलाई संश्लेषण गरी अबको वित्तीय व्यवस्थामा विकसित, विकासोन्मुख र अल्पविकसित देशहरुको भुमिकाबारे स्पष्ट पार्नुपर्नेमा उनीहरुले जोड दिए ।
कार्यक्रममा जलवायु विज्ञ प्रविणमान श्रेष्ठले आर्थिक विकास, जलवायु परिवर्तनका समाधानसँगै जलवायु न्यायलाई प्रमुखताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
उहाँले वित्तीय सहयोगले गरिबी, असमानता र जलवायु परिवर्तनको समस्यालाई एकसाथ सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।