काठमाडौं,१ फागुन । आज विश्व रेडियो दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ । राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्ररुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रेअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो । रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ । नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले २००३ सालमा रेडियोको प्रसारण शुरु गरेको भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ ।
विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भइसकेको छ । अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सय हाराहारी छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७ सयभन्दा बढी छ । निजी क्षेत्रबाट एफ एम रेडियोको प्रसारण भएको २०५२ सालदेखि हो । विभिन्न सञ्चार माध्यमको विकास भएपनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ ।