१४, जेठ, काठमाडौं । लामो समयदेखी अन्यौलमा परेको काठमाडौ–तराई दु्रत मार्गको आइतबार शिलान्यास भएको छ ।
आइतबार बिहान एक कार्यक्रमकाबीच प्रधानमन्त्री दाहालले दु्रत मार्गको शिलान्यास गर्नुभएको हो । दु्रत मार्गको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले द्रुत मार्गले हिमाल र पहाडलाई मधेसी मनसँग जोड्ने बताउनुभयो । उहाँले द्रुतमार्ग दुरगामी महत्वको भएको र यसले देशको भाग्य र भविश्य निर्धारण गर्ने बताउनुभयो ।
सेनाको भूमिका र महत्व बढोस् भनेर नै द्रुतमार्ग निर्माणको जिम्मा दिएको भन्दै उहाँले द्रुतमार्ग निर्माणपछि सरकारले सेनालाई विशेष रुपमा पुरस्कृत गर्ने बताउनुभयो । मुलुक कै नमुना आयोजनाका रुपमा रहने सो मार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकार सम्पन्न निर्देशक समिति गठन गरिएको छ । सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतको सहभागिता थियो ।
एक खर्ब १२ अर्ब रुपैयाँको लगानी लाग्ने अनुमान गरिएको सो मार्ग निर्माणपछि निजगढदेखि काठमाडौंसम्मको दूरी एक घण्टामा पूरा हुने छ । ७६ किलोमिटर लामो दूरीको फास्ट ट्रयाक ४ वर्षभित्र निर्माण गरिसक्ने नेपाली सेनाको योजना छ । सरकारले केही समय पहिले मात्र फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई सुम्पिएको थियो ।