काठमाडौं,२३ माघ । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले नीति महाधिवेशन समावेशिताको आधारमा हुनुपर्ने बताएका छन् । मंगलबार पत्रकारसँग कुरा गर्दैै शाहीले यस्तो टिप्पणी गरेका हुन् ।
आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुने सो महाधिवेशनमा पार्टी कार्यकर्तादेखि सबैलाई समेट्ने गरी विधान बन्नु पर्ने उनको भनाइ छ । उनले भने,“पार्टीको विधान बन्नुमात्र ठुलो कुरा नभई कार्यान्वयनको लागि प्रतिबद्ध भएर सबै अघि बढ्नुपर्छ,त्यो अहिलेको आवश्यकता हो ।”
विगतमा विधान भएपनि विधान भन्दा पनि शक्ति र पहुँचको आधारमा पार्टी चलेको उनले आरोप लगाए । उनका अनुसार सोही कारण पार्टीका पुराना कार्यकर्ताहरु उदासिन भएका हुन् । आफ्नो पार्टीले सञ्चालन गरिरहेको ‘कांग्रेस समुदाय अभियान’ बारे कुरा गर्दै शाहीले नेताहरु समुदाय पुगेर जनताका गुनासो,समस्या र उनीहरुले राखेका अपेक्षा नजिकबाट बुझ्न सफल भएको दाबी गरे ।