‘सिद्धान्तबाट विचलित भएको छैन, अर्थतन्त्र सबल नभइ प्रदेश चल्दैन’ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

‘सिद्धान्तबाट विचलित भएको छैन, अर्थतन्त्र सबल नभइ प्रदेश चल्दैन’

काठमाडौं,२३ माघ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न नसक्ने बताउनुभएको छ । कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यमहरुमा बोली फेरिएको भन्ने भ्रम फैल्याइएको भन्दै उहाँले आफूले जनताबाट निर्वाचित हुँदा र सभामुख भइसकेपछिको सिद्धान्तमा परिवर्तन नगरेको बताउनुभएको हो ।

विराटनगरमा कुरा गर्दै उहाँले आफू सभामुखमा सर्वसम्मत निर्वाचित भइसकेपछि संविधान बमोजिम पदिय दायित्वअनुसार काम गर्ने बताउनु भयो । उहाँले प्रदेश बलियो हुन आर्थिक रुपमा सबल हुनुपर्ने बताउनु भयो । तर देशको अवस्था आर्थिक रुपमा मजबुत नरहेकाले प्रदेश संरचना सञ्चालन चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले अर्थतन्त्र बलियो बनाउन नसके प्रदेश संरचनामा निरन्तर प्रश्न उठ्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म सभामुखमा सर्वसम्मत ढंगले निर्वाचित भइसकेपछि संविधान बमोजिम काम गर्ने मेरो कर्तव्य र अधिकार जिम्मेवारी हो । त्यसअनुसार नै काम गर्नुपर्छ । प्रदेशलाई कमजोर वा बलियो बनाउने भन्नेकुराहरु घरिघरि उठ्छ । विचार परिवर्तन गरेको हो की भन्नेकुरा उठ्छ । म हिजो जुन सिद्धान्तमा रहेको थिएँ । त्यो सिद्धान्तबाट अहिले पनि विचलित भएको छैन । प्रदेश बलियो हुन आर्थिक रुपमा सबल हुनुपर्छ । देशको अर्थतन्त्र जुन डामाडोल अवस्थामा छ । यसमा तीन तहको सकरार धान्दैन की भन्ने जुन कुराहरु उठेको छ । त्यसमा अहिले पनि विचलित भएको छैन । प्रदेश बलियो हुनका लागि आर्थिक रुपले सबल हुँदै आयो भने प्रदेश धान्न सक्छ, नत्र गाह्रो पर्छ । यसले सबै भएर बलियो बनाउन सक्यो भने प्रदेश रहन पनि सक्छ नत्र कालान्तरमा यसको विषयमा प्रश्न जुन उठेको छ, अझै बढी सबल भएर जानसक्ने कुरा छ । प्रदेशको खास काम भनेको ऐन, कानून बनाउने, नीति निर्माण गर्नेकुरा हो । यसमा विभिन्न समितिको सभापतिहरुको निर्वाचन हुन बाँकी छ । यो निर्वाचन छिटो भन्दा छिटो सबै दलहरुसँग कुरा गरेर, सामञ्जस्यता मिलाएर सर्वसम्मत ढंगले गर्ने सकेसम्म र अन्य कामहरु जिम्मेवारीपूर्ण रुपमा गर्ने साथमा लाग्दछु । सरकारले स्थायित्व पाइदियो भने विकास निर्माणका काम अघि बढ्छन् । त्यसमा सरकारले गर्ने कुरा हो । गरिरहेको होला ।’

सभामुख बिष्टले संसदीय समितिका सभापतिहरु चयन नभएकाले सभापति चयन गर्नेकुरामा र कानून निर्माण गर्ने कुरामा आफ्नो बढी ध्यान केन्द्रित हुने बताउनु भयो । उहाँले संसदलाई नियमित रुपमा बिजनेस दिन सरकारलाई सजग गराइरहने बताउनु भयो । सरकारले स्थायित्व पाए मात्रै विकास निर्माणका काम अघि बढ्न सक्ने भन्दै स्थायित्व दिन आवश्यक रहेको सभामुख बिष्टले स्पष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);