एजेन्सी,१७ माघ । पाकिस्तानमा फेब्रुअरी ८ मा हुन लागेको आम निर्वाचनको ८ दिनअघि पूर्व प्रधानमन्त्री इमरान खानलाई दोस्रो पटक सजाय सुनाइएको छ । खान र उनकी पत्नी बुशरा बीबीलाई तोशखाना मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।
यसपछि खानले १० वर्षसम्म कुनै पनि सरकारी पदमा बस्न पाउँदैनन् । निर्णय अनुसार दुवैलाई करिब २३ करोड ३७ लाख रुपैयाँ जरिवाना समेत लगाइएको छ । यसअघि हिजो अर्थात मंगलबार रावलपिण्डीको विशेष अदालतले गोप्य चिठी चोरीको मुद्दामा खानलाई १० वर्षको जेल सजाय सुनाएको थियो ।
उनीसँगै पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) नेता तथा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि सजाय सुनाइएको छ । खानलाई २ दिनमा २४ वर्षको जेल सजाय सुनाइएको छ ।
गत महिना मात्रै पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले खान र बुशरा बीबीविरुद्ध तोशाखानासँग सम्बन्धित मुद्दा दर्ता गरेको थियो। जसमा उनीहरु दुबैले साउदी युवराजबाट उपहार स्वरुप पाएको हार बेचेको आरोप लगाइएको थियो । यो सुनुवाई गर्दै उत्तरदायित्व अदालतले बुधबार सजाय सुनाएको हो ।
पाकिस्तानी पत्रकार आलिया शाहका अनुसार पाकिस्तानमा प्रधानमन्त्री, राष्ट्रपति वा अन्य पदमा रहेका व्यक्तिहरूले प्राप्त गरेको उपहारको जानकारी नेशनल अर्काइभ्सलाई दिनुपर्ने हुन्छ। ती तोशखानामा जम्मा गर्नुपर्छ। यदि उपहार १० हजार पाकिस्तानी रुपैयाँको भएमा सम्बन्धित व्यक्तिले कुनै पनि पैसा नदिई राख्न सक्नेछ ।
प्रधानमन्त्री हुँदा खानले साउदी युवराजबाट हिराको हार उपहार स्वरुप पाएका थिए । यसको मूल्य १८ करोड पाकिस्तानी रुपैयाँ थियो, यो लाहोरका एक प्रसिद्ध जौहरीलाई बेचेको थियो। इमरानकी श्रीमती बुशरा बीबीले यो हार एक मन्त्री जुल्फी बुखारीमार्फत बेचेका थिए ।
तोशाखाना (कोषागार) को नियम अनुसार इमरानले यो हार जम्मा गर्नुपर्थ्यो। तर बुशराले त्यसो गर्न अस्वीकार गरिन् । यस केसको अनुसन्धान सन् २०२२ मा सुरु भएको थियो। यसका लागि ज्वेलरी शोरुमका मालिक र प्रबन्धकलाई पनि सोधपुछ गरिएको थियो । यस अवधिमा हार बेचेको समयको सीसीटीभी फुटेज पनि फेला परेको थियो। त्यसपछि हार बरामद गरी तोशखानामा राखिएको थियो ।
यसअघि ५ अगस्ट २०२३ मा इमरान खानलाई तोशाखानासँग सम्बन्धित अर्को मुद्दामा ३ वर्षको जेल सजाय सुनाइएको थियो । फैसला सुनाउँदै इस्लामाबादको ट्रायल कोर्टले खानलाई ५ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । त्यसपछि लाहोर प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबाहेक खानविरुद्ध १४ वटा मुद्दा छन् जसमा उनको गिरफ्तारी निश्चित मानिन्छ। यसमा ९ मे २०२२ मा सैन्य अड्डामा आक्रमणको मामला समावेश छ। यसको सुनुवाइ सैन्य अदालतमा हुने भएको छ । यसबाहेक विश्वविद्यालयका लागि सित्तैमा जग्गा लिएको पनि मुद्दा छ । धेरैजसो मुद्दामा अभियोगपत्र पनि परेको छैन ।




