काठमाडौँ, १४ माघ । डा ठाकुरनाथ पन्त स्मृति गुठीले पन्तको २२औँ स्मृति दिवसका अवसरमा साहित्य, पर्यावरण र पत्रकारिता क्षेत्रका सात व्यक्तित्वलाई सम्मान गरेको छ । अर्थ मन्त्रालयका पूर्वसचिव एवं अर्थविद् डा पन्तको स्मृतिमा स्थापित सो संस्थाले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ कूटनीतिज्ञ प्रा डा मोहनप्रसाद लोहनीले ती सम्मान हस्तान्तरण गर्नुभयो ।
सम्मानित हुनेमा साहित्यकार एवं पर्यावरणविद डा रोशन शेरचन, वन विज्ञानविज्ञ डा हिमलाल श्रेष्ठ, साहित्यकार उर्मिला पन्त पाण्डे, सविना सिन्धु, साहित्यकार एवं राससकर्मीद्वय श्यामप्रसाद रिमाल र प्रकाश सिलवाल हुनुहुन्छ । पूर्वराजदूत डा लोहनीले डा पन्त आफ्ना सहपाठीका साथै एक कुशल र स्वच्छ छविका प्रशासक हुनुहुन्थ्यो भन्नुभयो ।
गुठीका अध्यक्ष सीताराम थपलियाले डा पन्तले प्रशासनिक र आर्थिक क्षेत्रमा दिनुभएका योगदानलाई थप चीरस्थायी बनाउन पहल गर्ने बताउनुभयो । कार्यक्रममा कवि धर्तीचन्द्र यात्रीले दिवङ्गत डा पन्त र पन्तकी श्रीमती भुवनेश्वरी पन्तका स्मृतिमा गीतिकाव्य प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष थपलिया, उक्त गुठीका संरक्षिका सुष्मा पाण्डे, महासचिव उदय खतिवडालगायतले डा पन्तप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।