टीका खतिवडा ||
इलाम ११ माघ ||
इलामको ठूलो टुँडिखेलमा जारी प्रथम इलाम गोल्डकपको रोचक एबम् कडा प्रतिष्पर्धाबीच विर्तामोड युनाइटेड फाइनलमा प्रवेश गरेको छ । विहिबार भएको दोस्रो सेमिफाइनल खेलमा विर्तामोड युनाइटेडले पाँचथर युवा क्लवलाई ट्राइबेकरमा दुईका विरुद्ध चार गर्दै फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटको खेल समयमा पाँचथर युवा क्लव र विर्तामोड युनाइटेड दुवै तर्फबाट गोल स्कोर हुन सकेन । दुवै टीमले गोल गर्न पाएको अवसरबाट खेलाडी चुकेका थिए ।
ट्राइबेकरमा विर्तामोडका दिवस उराउ, प्रदीप बुढाथोकी, राहन कार्की, एञ्जल गुरुङ्गले गोल गरेका थिए । पाँचथर युवा क्लवका साइमान लिम्बु र सुदिप श्रेष्ठले गोल गरे ।
पाँचथरका अशोक खबास र विजु भुजेलको गोल स्कोर हुन सकेन । यस्तै विर्तामोडका विशाल दर्जिको प्रहार गोलमा परिणत हुन सकेन ।
खेलको म्यान अफ दी म्याच विर्तामोड युनाइटेडका संजीत राई भए । उनले नगद पाँच हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत १३ गते शनिबार एन आर टी र विर्तामोड युनाइटेडबीच फाइनल खेल हुने भएको छ । खेल दिउसो दुइ बजे हुनेछ ।
एन आर टीले सडन डेथमा आयोजक रेडहर्ष फूटबल क्लवलाई पहिलो सेमिफाइनलमा पराजित गरेको थियो ।