| ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

काठमाडौं, ६ माघ ||
काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ । २०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने पहल भएपनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन । तर पछिल्लो समय स्थानीय सरकारको पहलमा पनौतिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन तिब्र तयारी गरिएको हो । पनौति क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल भएपनि अहिलेसम्म सफल हुन सकेको छैन । पनौति नगरपालिकाका मेयर रामशरण भण्डारीले नगरपालिकाले अहिले पनौतिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन अन्तिम तयारीमा लागेको बताउनुहुन्छ । मेयर भण्डारीले युनेस्कोले दिएको मापदण्ड अधिकांश पूरा भइसकेकाले अब केही मापदण्ड पूरा गरेर पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । नगरपालिकाले अहिले संरक्षणका लागि व्यवस्थापकीय योजना निर्माण गरिरहेको उहाँको भनाइ छ । कानूनहरु नबन्दा पनि कतिपय स्थानमा समस्या उत्पन्न भइरहेको मेयर भण्डारीको भनाइ छ । यता, पनौति पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौति ऐतिहासिक पुरातात्विक महत्व बोकेको सम्पदाको शहर भएको बताउनु भयो । पनौतिमा एक किलोमिटर क्षेत्रमा ४२ वटा मूर्त सम्पदा रहेको भन्दै मूर्त र अमूर्त गरी पनौतिमा मात्रै ७० बढी सम्पदाहरु रहेकाले यो शहर एउटा खुला संग्रहालय रहेको उहाँको दाबी छ । त्यस्तै पनौतिस्थित इन्द्रेश्वर महादेवका पुजारी रमेशप्रसाद जंगमले पनौति शहर धेरै पुरानो शहर भएकाले विश्व सम्पदा सूचिमा सूचिकृत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शहरमा रहेका आधुनिक ८० भन्दा बढी सम्पदाहरुलाई पुरानै शैलीमा निर्माण गरेर विश्व सम्पदा सूचिमा सूचिकृतका लागि पहल गर्नुपर्ने बताउनु भयो । यसबारेमा स्थानीयलाई जनचेता दिन र जागरुक बनउन जरुरी रहेको जंगमको भनाइ छ । उहाँले पनौतिमा घुम्न जाने ९० प्रतिशत पर्यटक फ्रान्सका हुने गरेको बताउनु भयो । पनौतिलाई सरकारले प्राचिन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतिलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचिकृत गर्न प्रश्ताव गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);