व्यवस्थित बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

व्यवस्थित बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा

काठमाडौं, ६ माघ ||
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई व्यवस्थित बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिर गराउने निर्णयलाई थप कडाइ गरिने भएको छ । विमानस्थल कार्यालयले एक बर्षअघि जहाजको रात्रि बिसान काठमाडौं बाहिर गराउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप वायुसेवा कम्पनीले जहाज काठमाडौँबाहिरका विमानस्थलमा राखेर काठमाडौँका लागि पहिलो उडान पनि सञ्चालन गर्दै आइरहेका थिए तर पछिल्लो समय कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर एयरलाइन्सले काठमाडौँमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौँ ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडौँमा रात्रि बिसान नगरी काठमाडौँबाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयरलाइन्सहरुलाई विभिन्न ‘बेस’ तोकिएको छ, सोही अनुसार उनीहरुले जहाज रात्रि बिसान गर्नु पर्ने बताउनुहुन्छ । काठमाडौँबाहिरका चन्द्रगढी, विराटनगर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा जहाजको रात्रि बिसान हुने गरेको छ । ती जहाजले काठमाडौँका लागि सम्बन्धित गन्तव्यबाट पहिलो उडान गर्दै आएका छन् । महाप्रबन्धक तिवारीका अनुसार उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम पनि कम हुने भएकाले काठमाडौँबाहिरका विमानस्थलमा रात्रि बिसानका लागि थप प्रभावकारी बनाउन लागिएको हो । यसबाट काठमाडौँबाहिरबाट आउने यात्रुलाई पनि यसले सहज हुनेछ । प्राधिकरणको निर्णयअनुसार निजी क्षेत्रका बुद्ध एयरको ६, यती एयरलाइन्स र श्री एयरलाइन्सको समान दुई तथा सौर्य, सीता, तारा एयरका समान एक–एक जहाज मात्रै काठमाडौँ विमानस्थलमा रात्रि बिसान गर्न पाइने निर्णय भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);