१ लाख नक्कली लाइसेन्स हुन सक्ने विभागको अनुमान | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८१, मंगलबार

१ लाख नक्कली लाइसेन्स हुन सक्ने विभागको अनुमान

काठमाडौं,२९ पुस । यातायात व्यवस्था विभागले करिव एक लाख नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुनसक्ने शंका गरेको छ । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स ) सम्बन्धमा विभागको आन्तरिक छानविन समितिले सो निष्कर्ष निकालेको हो ।

आन्तरिक छानबिन समितिले तयार गरेको प्रतिवेदन सम्बन्धित ठाउँहरुमा बुझाइएको महानिर्देशक उद्धवप्रसाद रिजालले बताउनुभयो । विभागबाट विभिन्न समयमा वितरण भएका करिब ७० हजार लाइसेन्स नक्कली भएको आशङ्का गरिएपछि विभागले आन्तरिक छानबिन समिति बनाएर यसको अध्ययन गरेको थियो । छानबिनका क्रममा एक लाखभन्दा बढी लाइसेन्स डाटा तोडमोड गरेर परीक्षा र ट्रायलविनै जारी भएको भेटिएको छ ।

जसमध्ये ७३ हजार लाइसेन्स जारी भइसकेका छन् । २९ हजार लाइसेन्स बायोमेट्रिक लिने प्रक्रियामा छन् । यी लाइसेन्स जतिखेर पनि जारी हुनसक्ने अवस्थामा छन् । उक्त समितिले पेश गरेको प्रतिवेदनमा २०७२ साल देखि २०८० सम्म वितरण भएका करिब ५० लाख लाइसेन्सको छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । समितिका अनुसार २०७२ सालदेखि नै लाइसेन्स वितरणमा घोटाला भएको पाइएको छ ।

डाटा इन्ट्री प्रणाली ज्यादै कमजोर भएकाले नक्कली लाइसेन्स वितरण भएको समितिको भनाइ छ । यातायात व्यवस्था विभागका महानिर्देशक रिजालले प्राप्त प्रतिवेदनलाई मन्त्रालयमा पेश गर्ने तयारीमा रहेको बताउनुभयो । नक्कली लाइसेन्स वितरणको विषयमा यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि छुट्टै टोली बनाएर छानबिन गरिरहेको छ ।

लाइसेन्सबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले मन्त्रालयलाई यस विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न पत्राचार गरेको थियो । अख्तियारकै पत्राचारका आधारमा मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले एक–दुई दिनमै प्रतिवेदन मन्त्रालयलाई बुझाउने तयारी गरेको छ । मन्त्रालयले उक्त प्रतिवेदन अख्तियारमा पठाउनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);