चितवन, ९ माघ । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाको पूर्व पश्चिम राजमार्ग भएर सञ्चालनमा आउने ट्रिपरको लागि टाइमकार्ड लागू गरेको छ ।राजमार्गमा दुर्घटना बढेको भन्दै चितवनमा ट्रिपरका लागि समय तालिका लागु गरिएको हो ।
ट्रिपरको लागि भरतपुरको गोन्द्राङदेखि मकवानपुरको मनहरीसम्मको क्षेत्रमा समय तालिका लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोेष पन्तले जानकारी दिए । भरतपुरदेखि मनहरीसम्मको ४० किलो मिटरको दूरीलाई दुई भागमा विभाजन गरेर टाइमकार्डको व्यवस्था गरिएको हो ।
गोन्द्राङदेखि भण्डारासम्मको २० किलोमिटरको दुरी पार गर्न ४५ मिनेट, भण्डारादेखि मनहरीसम्मको २० किलोमिटरको दूरी पार गर्न ३५ मिनेटको समय तोकिएको छ । टाइमकार्डको पालना नगर्ने ट्रिपर चालकलाई कारबाही गर्ने ट्राफिक प्रहरीले चेतावनी दिएको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ मा १ सय १५ वटा दुर्घटना भएकोमा ट्रिपरका कारण ३० वटा दुर्घटना भएका थिए ।