म्याग्दी,२२ पुस। म्याग्दीमा धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर दुई जनाको हत्या भएको छ । मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर दुई जनाको हत्या भएको हो भने एक जना घाइते भएका छन् ।
अज्ञात व्यक्तिको छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजाको भने उपचारका क्रममा मृत्यु भएको छ। उनीहरुलाई बचाउँन जाँदा छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते छिन् र उनको पोखरामा उपचार भइरहेको छ ।
मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई आक्रमणकारीले चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।
गम्भीर घाइते अवस्थामा रहेकी प्रियंकालाई पोखरामा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अमृताको मणिपालमै उपचार भइरहेको छ । छपनी प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।