काठमाडौं,१७ पुस । कोशी प्रदेशले सोमवार प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त तय गरेको छ । दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको रबाफिलो जित निकाल्दै कोशी लगातार चौथो पटक यस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । अब कोशीले बुधवार विभागीय टोली एपिएफसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ । कोशीले जारी प्रतियोगितामा तेस्रो पटक एपिएफविरुद्ध खेल्न लागेको हो । यसअघि लिग र पहिलो क्वालिफायरमा कोशीले एपिएफसँग हार सामना गर्नुपरेको थियो । यस पटक भने उपाधि जित्ने लक्ष्यका साथ कोशी मैदान प्रवेश गर्नेछ ।
संघीय संरचनापछि चौथो पटक फाइनलमा पुगेको कोशीले उपाधि भने जित्न सकेको छैन । कोशीले जारी प्रतियोगिता दोस्रोपटक सुदूरपश्चिमलाई हराउँदै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान (टियु) मा उपाधि भिडन्त तय गरेको हो । सुदूरपश्चिमले दिएको ८९ रनको सामान्य लक्ष्य कोशीले १३ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा ग¥यो । ओपनर काजल श्रेष्ठले ३८ रन र अप्सरी बेगमले १२ रनको अविजित इनिङ खेल्दै जित दिलाए । त्यसअघि ओपनर तथा कप्तान रुबिना क्षेत्रीले ३७ रनको योगदान दिइन् ।
काजल र रुबिनाले पहिलो विकेटका ५९ रनको साझेदारी गर्दै जितको आधार तय गरे । सुदूरपश्चिमका लागि एक मात्र विकेट लक्ष्मी साउदले लिइन् । कविता जोशीले तीन ओभरमा किफायती बलिङ गरे पनि विकेटविहीन रहिन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनायो । सुदूरपश्चिमकी सम्झाना खड्काले २५ रन, विन्दु रावलले १७ र कविता जोशीले १५ रनबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्नै सकेनन् ।
कोशीको बलिङमा लागि संगीता राईले दुई तथा एलिशा खडिया, निशा साह र सबनम राईले समान एक विकेट लिए । पहिलो क्वालिफायरमा कोशी एपिएफसँग ५२ रनले स्तब्ध बनेको थियो । एलिमिनेटमा सुदूरपश्चिमले वागमती प्रदेशलाइ ९ विकेटले हराउँदै कोशीसँग भेट पक्का गरेको थियो । तर, गत वर्षको विजेता सदूरपश्चिम यस पटक भने फाइनल पुग्न असफल रह्यो ।