काठमाडौं, १२ पुस । काठमाडौंको भृकुटीमण्डपमा हुने आठौं घरजग्गा मेलाको तयारी पूरा भएको छ । पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौं घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको हो । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेला १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने र मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भयो ।
उहाँले मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने बताउनु भयो । उहाँले क्रेता र बिक्रेताहरुका लागि यो मेला महत्वपूर्ण र लाभदायी हुने बताउनु भयो । उहाँले अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखेर मेला सञ्चालन गरिएको बताउनु भयो । अध्यक्ष धमलाले यस पटकको मेलामा पनि डेढ लाखसम्म अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा लिएको बताउनु भयो । उहाँले मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी लगायतका स्टलहरु रहने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मेला १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । यसको सबै तयारी पूरा भइसकेको छ । १० बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ । घर जग्गा सम्बन्धी सबै जानकारी पाउनु हुनेछ । यसमा सेवामुलक हो, यसमा कुनै टिकटको व्यवस्था छैन । यो क्रेता र बिक्रेताहरुका लागि राम्रो स्थान हो । अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य रहेको छ । घर बेच्नेलाई पनि कहाँ गएर बेच्ने भन्ने समस्या थियो भने किन्नेहरुलाई पनि कहाँ गएर किन्ने भन्ने समस्या थियो । कस्तो प्रविधिको घर किन्दा राम्रो हुन्छ, भन्नेकुराहरु यो घर जग्गा मेलाबाट प्राप्त गर्नसक्छौँ । घर जग्गा मेलाबाट बायर्स र सेलर्स दुवैलाई लाभ हुनेछ । हामीले एक लाखदेखि एक लाख पचास हजारकै हाराहामीमा अवलोकन कर्ता आउने अपेक्षा छ । घर जग्गासँग सम्बन्धित सबै प्रोडक्टहरु मेलामा हुनेछन् । २५ वटा स्टल घरजग्गासँग रिलेटेड छन् भने अरु अरु प्रोडक्ट छन् । बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी सबैकुरा छन् । प्रविधिका जानकारी पनि पाउनुहुन्छ । यो ठाउँमा आएर सबैकुरा बुझ्न सक्नुहुन्छ ।’
अध्यक्ष धमलाले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताउनु भयो । उहाँले यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताउनु भयो ।