काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर मिडियाले गोर्खा मिडिया नेटवर्कको सेयरवाला रहेको भन्दै भ्रम छर्न खोेजेको टिप्पणी गरेका छन् ।
कान्तिपुर दैनिकले हिजो (मंगलबार) ‘सहारा चितवन सहकारीका बचतकर्ता वेसहारा ८५ करोड हिनामिना, बिनाधितो १२ करोड ग्यालेक्सीमा शीर्षक’को समाचारबारे लामिछानेले यस्तो टिप्पणी लगाएका हुन् । कान्तिपुरले सेयर लगतको पुरानो (२०७८÷६÷२३) को विवरण राखेर भ्रम छरेको उनले उल्लेख गरेका छन् ।
“भ्रमलाई सत्यका रुपमा स्थापित गर्न उसले सेयर लगतको पुरानो (२०७८÷६÷२३) को विवरण राखेको रहेछ। त्यसपछि गोर्खा मिडिया नेटवर्कको सेयर लगतमा निकै फेरबदल भइसकेको तथ्यको कागजात उसले पाउन सकेन वा नियतबस लुकायो म भन्न त सक्दिन!”–उनले लेखेका छन् ।
उनले ग्यालेक्सी टीभी छोड्ने बेलामा आफूलाई दिएको (पैसा लगानी नगरी) सेयर सबै ट्रान्सफर गरेको जानकारी गराएको पनि रविले उल्लेख गरेका छन् । उनले सार्वजनिक जानकारी दिइसकेको मात्र नभइ कानूनी रुपमै अलग भइसकेको कम्पनीसँग सम्बन्धित पुरानो कागजात भजाएर कान्तिपुरले भ्रम छर्न खोजेको उनको तर्क छ ।
उनले लेखेका छन,“उसले पुरानो कागजातको सहारा लिएर भ्रम छर्नुअघि नयाँ कागजात खोज्ने सामर्थ्य राखेको भए उसको नियतमा अहिले जसरी सार्वजनिक प्रश्न आउने थिएन । सेयर लगतको नयाँ कागजात तल पोष्ट गरेको छु जसमा मेरो सेयरवाला नभएको स्पष्ट देखिन्छ ।”