काठमाडौं, ९ पुुस । दुबईबाट १४ किलो सुन ल्याउने गिरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याएको खुलेको छ । गत मंसिर २१ गते बिहीवार राति फ्लाइ दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट १४ किलोग्राम सुन फेला पारेपछि बनेको छानबिन समितिको प्रतिवेदनले सो समूहको संलग्नतामा १३८ केजी सुन ल्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो ।
विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेले १४ किलो सुन प्रकरणमा संलग्नहरुबिरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता हुने बताउनु भयो । गोरखाका मिनबहादुर घलेबाट शुरु भएको अनुसन्धानमा हालसम्म ९ जना पक्राउ परेका छन् । उनीहरु सबैलाई २५ दिनभित्र भन्सार ऐनअनुसार मुद्दा दर्ता गर्ने पनि प्रमुख पाण्डेले बताउनु भयो । उहाँले केही सम्भाव्य अभियुक्तहरुको नामसमेत प्रतिवेदनले समेटेको जानकारी दिनुभयो ।
छानविन समितिले अध्यागमन कार्यालयले पटक पटक दुबई, सिंगापुर, हङ्कङ, थाइल्याण्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।