एजेन्सी,८ पुस । भारततर्फ आउँदै गरेको इजरायली व्यापारी जहाज एमभी केम प्लुटोलाई अरब सागरमा भारतीय तट नजिक ड्रोनले आक्रमण गरेको छ । जसका कारण लाइबेरियाको झण्डा फहराउने जहाजको एक भागमा आगो लागेको थियो ।
यसैबीच पेन्टागनले ठूलो दाबी गरेको छ । पेन्टागनले इरानी ड्रोन आक्रमणले भारत नजिकै रहेको एक रासायनिक ट्याङ्करलाई निशाना बनाएको जनाएको छ ।
ड्रोन इरानबाट लन्च गरिएको थियो
अमेरिकी रक्षा विभागले भने कि यो ड्रोन इरानबाट प्रक्षेपण गरिएको थियो, जसले हिन्द महासागरमा रासायनिक ट्याङ्करलाई निशाना बनाएको थियो। पेन्टागनका प्रवक्ताले रोयटर्स समाचार एजेन्सीलाई इजरायली जहाजलाई गुजरातको गिर सोमनाथ जिल्लाको वेरावलबाट २०० समुद्री माइल (लगभग ३७० किलोमिटर) दक्षिणपश्चिम क्षेत्रमा इरानबाट आएको ड्रोनले आक्रमण गरेको र आगलागी भएको बताए ।
पेन्टागनले विज्ञप्तिमा भनेको छ,‘२०२१ यता वाणिज्यिक जहाजमा इरानले गरेको यो सातौं आक्रमण हो।’ यद्यपी संयुक्त राष्ट्रसंघका लागि इरानी प्रतिनिधिमण्डलका प्रवक्ताले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । इरान–समर्थित हुथी विद्रोहीहरूले इजरायल–हमास युद्धको बीचमा लाल सागरमा जहाजहरूमा आक्रमण गरेपछि यो घटना भएको हो । बेलायती सेनाको युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसनका अनुसार गुजरातको गिर सोमनाथ जिल्लाको भेरावलको दक्षिणपश्चिममा २०० समुद्री माइल (लगभग ३७० किलोमिटर) टाढा रहेको क्षेत्रमा ड्रोन आक्रमणका कारण इजरायली जहाजमा आगो लागेको थियो।
इजरायली व्यापारी जहाज कच्चा तेल बोकेर साउदी अरेबियाको बन्दरगाहबाट मंगलुरुतर्फ गइरहेको थियो । भारतीय नौसेनाका अधिकारीहरूले आक्रमणको सूचना पाएलगत्तै उक्त क्षेत्रमा पठाइएको समुद्री गस्ती विमानले व्यापारी जहाजमाथि उडान भरेर सम्पर्क स्थापित गरेको बताए। जहाज र चालक दलको सुरक्षा सुनिश्चित गरिएको थियो। यसको सुरक्षाका लागि भारतीय नौसेनाको एक अग्रपंक्ति युद्धपोत पठाइएको छ ।