काठमाडौं, ६ पुस । सर्वोच्च अदालतमा आजदेखि नवनियुक्तसहित २० न्यायाधीशको इजलास लाग्ने भएको छ । सर्वोच्च प्रशासनका अनुसार नवनियुक्त ६ न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल आजैदेखि इजलासमा बस्नु हुने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिएपछि सर्वाेच्चमा ५ न्यायाधीश थपिएका हुन् । संविधान जारी भएयता सर्वोच्च अदालतमा सबभन्दा ठूलो संख्यामा न्यायाधीशले मुद्दा हेर्न लागेको यो दोस्रोपल्ट हो । यसअघि २०७६ वैशाख ६ गतेदेखि पूर्ण संख्या २१ जनाको इजलास लागेको थियो । त्यसपछि घट्दै गएको न्यायाधीशको संख्या १४ पुगेपछि पाँच जना न्यायाधीश संवैधानिक इजलास बसेका दिन अन्य इजलास ४ भन्दा बढी गठन हुन नसक्ने अवस्था अब टरेको छ ।
लामो समयसम्म न्यायाधीश कम हुँदा सर्वोच्चमा मुद्दाको संख्या थुप्रेर २८ हजार पुगेको छ । अब २० जनाको इजलास लाग्दा मुद्दा फर्स्योटको दर बढ्ने सर्वोच्चको अपेक्षा छ । दोस्रो संविधानसभाले २०७२ मा संविधान जारी गरेपछि सर्वोच्चमा २१ स्थायी न्यायाधीशको दरबन्दीको व्यवस्था गरे पनि रिक्त हुनेबित्तिकै नियुक्ति नहुँदा पूर्ण संख्याको इजलास दुर्लभ हुँदै आएको छ र त्यसले छिन्न बाँकी मुद्दाको लगत बढाउँदै लगेको छ ।