बैंकहरुको पुसमा कर्जा लगानी बढ्ने संभावना न्यून | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

बैंकहरुको पुसमा कर्जा लगानी बढ्ने संभावना न्यून

काठमाडौं, ४ पुस । बैंकहरूमा अहिले रकम थुप्रिएको र कर्जाको ब्याजदर घटेकाले पुसमा कर्जा लगानी बढ्ने अपेक्षा गरिएको थियो । तर त्यस्तो सम्भावना कम देखिएको छ । अहिले बैंकहरूमा ६ खर्ब रूपैयाँ हाराहारी लगानी योग्य रकम थुप्रिएको छ ।

तर यो महिना पनि बैंकहरू कर्जा लगानीभन्दा असुलीमै बढी केन्द्रित हुने देखिएको छ । विशेषगरी पुस आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम महिना भएकाले बैंकहरू कर्जा असुलीमै धेरै केन्द्रित हुने नेपाल बैंकर संघका अध्यक्ष सुनील केसीले बताउनुभयो । बैंकहरूबाट जाने कर्जामा सामान्य वृद्धि देखिए पनि अपेक्षा गरेजति नभएको उहाँको भनाइ छ । खराब कर्जा उच्च भएकाले पुसमा बैंकहरूको ध्यान कर्जा असुलीमा बढी केन्द्रित रहेको बैंकरहरु बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमै बैंकहरूको खराब कर्जा उच्च दरमा बढेर औसत ३ दशमलब ३३ प्रतिशत हाराहारी पुगेको थियो । केही बैंकहरूको यस्तो खराब कर्जा ४ देखि ५ प्रतिशतसम्म पुगिसकेको छ । यही कारण पनि दोस्रो त्रैमासमा वित्तीय विवरणमा सुधार भएको देखाउन बैंकरहरूले कर्जा असुलीमा ध्यान दिइरहेका छन् । बैंकहरूले पुस महिनाबाटै निक्षेपको ब्याजदर समेत घटाएका छन् । गत कात्तिकमा बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११ दशलम प्रतिशतसम्म ब्याजदर दिएका थिए । पुसका लागि भने बैंकहरूले अधिकतम ९ दशमलब ६ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् ।

वाणिज्य बैंकहरूको यस्तो औसत ब्याजदर ८ दशमलब ९९ प्रतिशत कायम भएको छ । यसले कर्जा लगानी बढ्ने अनुमान गरिए पनि कर्जा मागमा भने वृद्धि नदेखिएको बैंकरहरू बताउँछन् । उनीहरूका अनुसार अहिले शैक्षिक कर्जा, निर्माणाधीन होटल तथा हाइड्रोपावर आयोजनाहरूमा केही कर्जा गइरहेको छ । नेपालको अर्थतन्त्र आयातमा आधारित भएको र यसमा अपेक्षित वृद्धि नभएकाले पनि कर्जाको माग बढ्न नसकेको बैंकरहरूको विश्लेषण छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);