उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै शेष इस्तिहारले आमरण अनशन शुरु गरेका छन्।
सोमवार विहान साढे ११ बजे इन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनशन शुरु गरेका शेष सर्लाही गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका प्रत्यासीसमेत रहेका थिए ।
उखुको मूल्य प्रतिक्विन्टल ७ सय ५० रुपैया हुनुपर्ने, सरकारले गत सिजनकै दिन बाँकी अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको अनुदान रकम नियमानुसार सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषियोग्य जमीनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई चाहिने मलखादको प्रवन्ध गर्नुपर्ने लगायत ६ बुँदे माग राखेर इस्तिहार अनशन बसेका हुन्।
उखुको मूल्यको विषयमा सर्लाहीका उखु किसानले (आइतवार) दिउँसो हरिवनमा संघीय सरकारका अर्थ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ब्यानरको प्रतिमा बनाएर दहन आगो लगाएका थिए ।
महेन्द्र राजमार्गको कडरिया चोकमा जम्मा भएका किसानले सरकार र चिनी उद्योगीविरुद्ध नाराबाजीसमेत गरेका छन् । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका किसानले शनिवार हरिवनमा उखुको लाँक्रा बोकेर नाराबाजीसहित जुलुस निकालेका थिए।
किसान नेताहरुले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्न माग गरेका छन्। गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन्।
नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति र किसान हकहित संरक्षण समितिको संयुक्त आयोजनामा विरोध प्रदर्शन भइरहेको छ। धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेको् इस्तिहारले बताएका छन्।
मूल्य नतोकी मिल नचलाउन किसानले दबाब दिएपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन्।