काठमाडौं, ८ माघ । धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्यूरिटिजलाई धितोपत्र बोर्डले ७५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
प्रज्ञानका विराटनगर शाखा कार्यालय प्रमुखले २०७४ जेठ ४ गते हुने सिभिल बैंकको साधारण सभा अगावै भाइवरमा ग्रुप बनाएर बैंकको सेयर किन्न लगानीकर्ता उकास्ने आशयको जानकारी पठाएका कारण बोर्डले कावाही गरेको जनाएको छ । बोर्डले प्रेश विज्ञप्तिमार्फत प्रज्ञानले आफ्नो शाखा कार्यालयको काम कारवाहीलाई सूक्ष्मरुपमा अनुगमन नगरेको तथा व्यावसायिक आचरण कायम गराउन नसकेकाले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार प्रज्ञान सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको धितोपत्र बोर्डले जनाएको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिम धितोपत्र व्यावसाय सञ्चालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेखहरु राम्रोसँग राख्ने व्यवस्था गरेको छ ।
घितोपत्र बोर्डले पछिल्लो समय बजार अनुगमन तथा सुपरीवेक्षण कार्यलाई सुदृढ गर्दै लगेको छ भने धितोपत्र सम्बन्धी ऐन बमोजिमको कारवाहीलाई पनि सशक्त बनाउँदै आएको छ । यस्ता, कारबाहीबाट धितोपत्र व्यवसायीलाई मर्यादित तवरले व्यावसाय सञ्चालन गर्नेतर्फ थप सजग गराउने र दोस्रो बजार कारोबार थप स्वच्छ एवं पारदर्शी हुन सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ ।





