काठमाडौं,२६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय रहेको औपचारिक सूचना आएको जानकारी गराउनु भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा २ सय नेपाली भर्ना भएको सुचना पाएको बताउनु भएको हो । उहाँले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरु रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको अध्ययन र खोजि कार्य भइरहेको उल्लेख गर्नु भयो । रुसी सेनामा भर्ना भएका नेपालीहरु कोही युक्रेनको कब्जामा रहेको भन्दै केही नेपाली युक्रेनी सेनामा आबद्ध रहेको पनि बताउनु भयो । उहाँले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढीरहेको पनि जानकारी गराउनु भयो ।
अर्काे प्रसंगमा प्रचण्डले पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा ग¥यो भन्ने दुष्प्रचार गरेकोप्रति आपत्ति जनाउनु भयो । उहाँले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमूना पाएको बताउनु भयो । उहाँले राष्ट्रको, जनताको, संविधान र लोकतन्त्रको हीतमा आफू अघि बढिरहेको बताउनु भयो । उहाँले दुष्प्रचार गर्नेहरुलाई सोही स्तरबाट प्रतिवाद गर्न पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहालले शहीद, बेपत्ता योद्धाका परिवार लगायत पीडितहरुलाई भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको भन्दै उहाँले सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो । प्रधानमन्त्रीले गठबन्धन पूरै अवधि जाने र अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको बताउनु भयो ।