काठमाडौं, १४ मंसिर । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब कडा रोगहरूका औषधि नपाइने भएको छ । ८ वटा कडा रोगका औषधि अब विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत पाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७९ वैशाख १ देखि स्वास्थ्य बीमा बोर्डमार्फत विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत सेवा दिइएको थियो । स्वास्थ्य बीमा कार्यक्रम मार्फत पाउँदै आएको मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको औषधि उपचार सहुलियत अब नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट पाइने भएको हो ।
स्वास्थ्य मन्त्रालयले कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि २०७८ लाई खारेज गरी मन्त्रालय मातहत फर्काएको हो । स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० स्वीकृत गरी लागु गरिएको हो । कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि कार्यान्वयनमा आएको एक वर्ष बितेलगत्तै मन्त्रालयले खारेज गरेको हो ।
सरकारले एकद्वार प्रणालीबाट स्वास्थ्य सेवा दिने भने पनि एक वर्ष नबित्दै आफ्नो निर्णय उल्ट्याएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार यस अघि विपन्न नागरिक औषधि उपचार कार्यक्रम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाटै सञ्चालन हुँदै आएको थियो ।