काठमाडौं,३ मंसिर । प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अराजकता फैलाइरहेको आरोप लगाउनुभएको छ ।
मोरङमा शनिबार आयोजित कार्यक्रममा नेता कोइरालाले आफैं प्रधानमन्त्री भएर सडकमा लाखौं मान्छे उतार्नेलगायतका अभिव्यक्ति दिएर प्रचण्डले मुलुकमा अराजकता फैलाउन खोजेको जिकिर गर्नुभयो । मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको बेला प्रधानमन्त्रीले आफैं सडक आन्दोलनमा उत्रने अभिव्यक्ति दिएर उद्योगी व्यवसायीलाई आतंकित बनाइरहेको उहाँको भनाइ थियो ।
नेता कोइरालाले मुलुकमा भ्रष्टाचार, दण्डहिनता नियन्त्रण र सुशासन कायम गर्नबाट राज्य चुकेकाले आमसर्वसाधारण निरास बनेको बताउनुभयो । वैदेशिक रोजगारीका लागि युवा पलायनले मुलुकभरि वृद्धवृद्धा बेसहारा भएर पारिवारिक विचलनका साथै विकृति बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । युवा विलेश पलायनले देशमा विकृति बढिरहे पनि राज्यले रेमिट्यान्स भित्रिरहेकोमा गर्व गरिरहेको भन्दै रेमिट्यान्सले सधैं देश नचल्ने नेता कोइरालाको ठोकुवा थियो । मुलुकमा देखिएका यावत समस्याको समाधान राजनीतिक नेतृत्वले दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।