पर्सा, ६ माघ । सरकारले पर्सामा सीमास्तम्भ मर्मतका क्रममा नेपाली भूमि भारतमा परेको विषयमा अध्ययन सुरु गरेको छ ।
नापी विभागले निर्देशक अनिल मरासिनीको नेतृत्वमा टोली खटाएर आफ्नो भूमि मिचिएको विषयमा अध्ययन सुरु गरेको हो । सीमास्तम्भ मर्मतका क्रममा नेपालको करिब ५० बिगाहा जमिन भारतमा परेको भन्दै पर्साका छपकैयावासीले आन्दोलन गरेपछि विभागले सत्यतथ्य बुझ्न अध्ययन टोली खटाएको हो ।
टोलीमा सहभागी प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले प्राविधिक कुराहरु नबुझेका कारण पिल्लर निर्माणका क्रममा समस्या देखिएको भन्दै स्थानीय दाबी अनुसार कागजपत्र जाँच गर्ने बताए । छपकैया क्षेत्रमा मात्रै १२ जनाभन्दा बढीको ५० विगाहा जमिन मिचिएको स्थानीयको दाबी छ । ३९२ नम्बरको मुख्य पिल्लरको सहायक पिल्लर निर्माणका क्रममा नेपाली जमिन भारततर्फ परेको स्थानीयको भनाइ छ ।
दुई देशको सहमतिमा सीमा क्षेत्रमा हराएका र क्षतिग्रस्त पिल्लर निर्माण तथा मर्मतको काम भइरहेकामा स्थानीयवासीको विरोधपछि स्थानीय प्रशासनले हाल काम रोक्न लगाएको छ ।