काठमाडौं । आजदेखि अवैद्य रुपमा भित्रिएका मोबाइल नियन्त्रण गर्ने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउन लागेको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली लागु गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराएको पनि प्राधिकरणले जनाएको छ ।
एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैधरुपमा भित्रिएका मोबाइल चल्नेछैनन् । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्ने छ ।
एमडीएमएस दर्ता नगरेको सेटहरू गत १ असोजदेखि कार्यान्वयनमा ल्याइएको थियो । विदेशबाट आउने नेपालीहरूले आफूले प्रयोग गर्न भनेर ल्याएका मोबाइल सेटहरू एमडीएमएसमा दर्ता नभएका, गत भदौभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू प्राधिकरणले १५ डिजिटको आइएमइआइ नम्बरसहित भन्सार कागजातसहित दर्तामा आउन प्राधिकरणले आह्वान गरेको छ ।
गत १५ पुसदेखि नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल सेट दर्ता नगरिने र त्यस्ता मोबाइल सेट चल्नबाट रोकिनेतर्फ पनि सचेत गराएको छ । साथै, बजारबाट खरिद गर्दा कुनै पनि मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणले मोबाइल आयातकर्ता र बिक्रेताले अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ ।