काठमाडौं, १९ कात्तिक । कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा आज शोक मनाउने भएको छ । प्रदेश सरकारको बैठकले आज शोक मनाउने निर्णय गरेको हो । प्रदेश सरकारले भूकम्पपीडितहरुलाई सहयोग गर्नसमेत आह्वान गरेको छ ।
कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर सरकारका सबै संयन्त्र परिचालन गर्ने पनि निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको हो ।
बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सबै निकायसँग समन्वय र सहकार्यका साथै सहयोगका लागि सबैलाई आग्रह गरेको छ । प्रदेश सरकारले प्रभावित क्षेत्रमा मेडिकल टोली पठाउनुका साथै राहत सामग्री पठाईरहेको र अपुग भएमा थप खरिद गर्ने गरी पठाउने जनाएको छ । यसै गरि विपद् प्रतिकार्यका लागि सोधभर्ना हुने गरी बजेट खर्च गर्न खर्चसम्बन्धी व्यवस्था पनि मिलाइएको बताईएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।




